१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दुर्घटनाका कारण आँखाको हड्डी भाँचिएकामध्ये ५० प्रतिशत व्यक्ति शल्यक्रिया गर्नुपर्ने अवस्थाका


559
Shares

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

काठमाडौं । कुनै दुर्घटनाका कारण आँखा र आँखा वरपरको हड्डी भाँचिएका व्यक्तिको शल्यक्रिया नेपालमा संभव भए पनि अत्याधुनिक प्रविधिबाट गरिने शल्यक्रिया नेपाली चिकित्सकहरुका लागि पनि नयाँ विषय हो । सिंगापुरबाट आएका चिकित्सकको सहयोगमा नेपालमा पहिलो पटक अर्बिटल फ्रयाक्चर पुनस्थापना कार्यशाला आयोजना गरियो ।

आँखाको उपचार र लेन्स उत्पादनमा तीन दशकदेखि सक्रिय तिलगंगा आँखा प्रतिष्ठानको पहलमा सिंगापुरका प्रसिद्ध नेत्र विशेषज्ञ तथा अकुलोफेसिएल सर्जन डा. गंगाधर सुन्दरले नेपालका विभिन्न जिल्लाका नेत्र विशेषज्ञहरुलाई दुर्घटनाका कारण आँखाको हड्डी भाँचिएकाको आँखाको शल्यक्रिया गरेको प्रत्यक्ष प्रसारण गरेको हो । दु्र्घटनाका कारण आँखाको हड्डी भाँचिएका व्यक्तिको नयाँ उपकरणबाट गरिएको शल्यक्रियाको प्रत्यक्ष प्रसारण नेपालमा पहिलो पटक गरिएको हो । तिलगंगा आँखा केन्द्रका अकुलर अंकोलोजी सर्जन डा. पुर्णिमा राजकर्णिकार स्थापित, म्याग्जीलो फेसिएल सर्जन डा. आलोक सम्तानी र वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा. डा. रोहित सैंजु सम्मिलित नेपाली चिकित्सको टोलीलाई डा. गंगाधर सुन्दरले शल्यक्रियाको प्रक्रियाबारे जानकारी गराउनु भएको थियो ।

नेपालमा आँखाको हड्डी भाँचिएकाहरु मध्ये ५० प्रतिशतको शल्यक्रिया गर्नुपर्ने अवस्था रहने गरेको तत्थ्यांक छ । त्यस्तो शल्यक्रियाका लागि विदेशको तुलनामा नेपालमा आधुनिक उपकरणहरु नभएकाले विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । शल्यक्रियाको प्रदर्शनीका लागि सिंगापुरबाटै उपकरण उपलब्ध गराइएको थियो ।

आँखा र वरपरको हड्डी भाँचिएको अवस्थामा हड्डीको पुनस्थापना नेपालका विभिन्न अस्पतालमा हुने गरे पनि पुरानै उपकरणको भरमा गर्नुपर्ने शल्यक्रिया र नयाँ प्रविधीको उपकरणका साथमा गर्ने शल्यक्रियामा धेरै फरक भएकाले नयाँ नयाँ उपकरण र उपचारविधी पनि फरक भएको सर्जन डा. चन्दन उपाध्यायले बताउनुभयो ।

आँखा जस्तो संवेदनशील अंगमा कुनै कारणवस लाग्ने चोटपटक अनि त्यसको उपचारविधी पनि फरक फरक भएका कारण सर्वसुलभ ढंगले विरामीहरुको उपचार नेपालमै गराउने सम्भावनाका लागि सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।