
इलाम । इलाम नगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाभित्रका आधारभूत विद्यालयहरूमा अध्ययनरत बालविकास कक्षादेखि कक्षा ५ सम्मका झन्डै ८ सय विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
इलाम नगरपालिका प्रमुख केदार थापाले आफ्नो कार्यकालमा शुरुआत गर्नु भएको कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा सुरु गर्नु भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काका अनुसार इलाम नगरपालिकाले शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
चिसोका कारण विद्यालय जान रोकिन नपरोस् भनेर बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यता नगर प्रमुख थापाले सामुदायिक विद्यालय तर्फको आकर्षण र शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको समेत जानकारी दिनुभयो ।
न्यानो कपडा पाएपछि विद्यार्थी खुशी भएका छन् भने अभिभावकले समेत नगपालिकाको यो काम स्वागतयोग्य रहेको बताएका छन ।
नगरले पहिलो चरणमा नगरपालिकाभित्रका १४ विद्यालयका ७ सय ७७ विद्यार्थीहरूलाई न्यानो कपडा वितरणको कार्यक्रम राखेको छ । यस्तै यसअघि नगरपालिकाले जेष्ठ नागरिकलाई समेत न्यानो कपडा वितरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्