२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी परिचालन


8.606k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षाबेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुनेगरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताउनुभयो ।

त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताउनुभयो । बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम शुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धि डेस्कनै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताउनुभयो ।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्टकृत जनशक्ति तयार पार्नका लागि काठमाडौंको मातातीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था समेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताउनुभयो । त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रुपमा प्लाष्टिकका सामग्रीहरुको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ ।

सबै प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पतालको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । प्रवक्ता खड्काले फिल्डमा खटिएका सशस्त्र प्रहरीहरुलाई सोही ठाउँमा उपचारको व्यवस्था हुनेगरी ती अस्पतालहरु पनि सञ्चालनमा ल्याउनुपरेको बताउनुभयो ।