२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त


156
Shares

काठमाडौं । लेखा परीक्षकको नियुक्त लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा सोमबार सम्पन्न भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सोमबार साधारणसभाले लेखा परीक्षक नियुक्त गरेको हो ।

सो साधारण सभाले लेखा परीक्षक वर्ष २०७९/८० का लागि एलएसबी एसोसिएट र ८०/८१ का लागि एएनएस एसोसियटलाई नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ । साधारणसभाअघि बसेको आपतकालिन बैठकले दुई निर्णय पनि गर्‍यो ।

साधारण सभा सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले विशेष साधारण सभाका लागि अनुमानित बजेट ४३ लाख ३० हजार २ सय रुपैयाँ पनि बैठकले पारित गरेको बताए ।

यसअघि गत कात्तिक २३ गते मात्र एन्फाको विशेष साधारण सभा भएको थियो । त्यतिबेला एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावका लागि सो साधारण सभा भएको थियो । तर, साधारणसभाले नेम्वाङमाथिको अविश्वास अस्वीकृत गरेको थियो ।

एन्फाका प्रवक्ता शाहले सहायक महासचिव बसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी रिक्त पदमा विजय घलेलाई जिम्मेवारी दिइएको पनि जानकारी दिए । उनले अध्यक्षले एन्फाको महासचिव, सहायक महासचिव र प्रवक्ता नियुक्ति गर्न पाउने अधिकार प्रयोग गरेको सो निर्णय गरेको दाबी गरे ।

तीन महिना नै नबित्दै एन्फाको अर्को साधारणसभा गरे पनि विवाद भने उत्पन्न भएन । एन्फाले लेखा परीक्षक नियुक्तिका लागि भने दोस्रो पटक विशेष साधारणसभा बोलाएको हो ।