
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैंले चलखेल गरिरहेको आरोप लगाउनुभएको छ ।
एनआरएनएभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरुले तमासा देखाइरहेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने पनि बताउनु भयो । एनआरएनएको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरुलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको जिकिर गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो काम सरकार र राजनीतिक दलहरुले कुनैपनि बहानामा नहुने बताउनुभयो ।
एनआरएनएले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एनआरएनए कोष परिचालनमा कन्जुस्याँई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । सरकारले सो कोषको परिचालनमा कन्जुस्याँई गरेका कारण गैर आवासीय नेपालीहरुले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । उहाँले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अब्बल भएर काम गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गर्नुभयो । संगठनमा आवद्ध सबैलाई एकतावद्ध भएर अघि बढे मात्रै संगठन र राष्ट्रको प्रतिष्ठा बढ्ने भएकाले सबैलाई समेटेर एनआरएनए अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
सत्तारुढ नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपालमा राजनीतिक स्थायित्व नभएका कारण देशलाई अघि बढाउन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले राजनीतिक दलहरु आफैं भित्र समस्या भएकाले उनीहरुले देशको पक्षमा काम गर्नसक्ने अवस्था नभएको बताउनुभयो ।
कांग्रेस नेता भण्डारीले संविधानलाई माध्यम बनाएर नेताहरुले आफ्नो स्वार्थपूर्ति गरिरहेको आरोप समेत लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्