
स्याङजा (सागर न्यौपाने) । यतिखेर स्याङ्जाका पाखापखेरा र कान्लाहरु सुन्तला पाकेर पहेंलपुर भएका छन । डोकोमा बोकेर सुन्तला बेचेको अनुभव बटुलेका किसानहरु अहिले व्यापारीहरु बारीमै सुन्तला किन्न पुग्दा दङ्ग हुने गरेका छन् ।
स्याङजा जिल्लाभरि दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । कात्तिकको अन्तिम सातामा प्रतिकिलो ६० रुपैयाँ र अहिले ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ । यस वर्ष सुन्तला उत्पादनमा केही कमी भएको छ । करिब ८५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका कृषक रामप्रसाद भण्डारी यस पटक २५ देखि ३० लाख रुपैयाँ आम्दानी हुने अनुमान गर्नुहुन्छ । भण्डारीको बगैँचामा अहिले आठ सय सुन्तलाका बोट छन ्। एउटै गाउँबाट दुई करोड बढीको सुन्तला विक्री गर्ने स्याङ्जाको सिरौंसाका सुन्तलाको मुल्य भने केही बढी पर्ने गर्छ । यहाँका सबैजसो कृषकले सुन्तला बिक्री गरेर दुई देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको सुन्तला पकेट क्षेत्र सञ्चालक समितिका संयोजकको भनाइ छ ।
कोदो मकै सहितका खाद्यान्न बाली लगाइएका बारीमा अहिले सुन्तलाका बोटहरु हुर्किरहेका छन् । केही समयमै उत्पादन दोब्बर बनाउने कृषकको लक्ष्य छ । उत्पादन बढी भएपनि बजारको खासै समस्या नरहेको किसान बताउँछन् । स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढ भैरहवालगायत बजारमा खपत हुने गरेको कृषक कमलप्रसाद भण्डारी बताउनुहुन्छ ।
जिल्लाका खासगरी अर्जुनचौपारी, फेदीखोला पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिका सुन्तला पकेट क्षेत्र हुन भन्ने अन्य क्षेत्रहरुमा पनि राम्रै उत्पादन हुन्छ । गत वर्ष २२ हजार मेट्कि टन उत्पादन भएको सुन्तला यस वर्ष घटेर २० हजार मेट्रिक टन उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष एक अर्ब २५ करोडौंको बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट १ अर्ब ३८ करोड भित्रिएकोमा यस वर्ष प्रतिहेक्टर साढे १४ हजार मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर १६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यहाँ सुन्तला उत्पादन अझै बढ्ने संभावना रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनु भयो ।
पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा किसानलाई सरोकारवालाले सहयोग गर्न सके यसैमा निर्भर बनेका कृषकलाई फाइदा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्