१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपिलवस्तुमा बुद्धको वंश संहारको कथा मूर्तिमा उतारियो


403
Shares

काठमाडौं । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको वंश विनाशको कथा मूर्तिमा उतारिएको छ ।

कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरुले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका हुन् ।

ईसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश सम्हारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिनेगरी मूर्तिहरु तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारुले बताउनु भयो ।

बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याइरहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरुले शान्तिको विकल्प नभएको सन्देश दिने उहाँको भनाइ थियो ।

मूर्तिकार सारुले भन्नुभयो, ‘मेरो मूर्तिको शिर्षक चाहीँ निर्विकल्प शान्ति हो । वर्तमान विश्व द्वन्द्वग्रस्त अवस्थामा छ । राजाहरुको द्वन्द्वको कारणले यो द्वन्द्व बढिराखेको छ । द्वन्द्वकै कारण शाक्य वंशको विनाश भयो । त्यसकारण शान्तिको विकल्प छैन । दम्भ, अहंकार, अभिमानले चाहीँ विनाश गर्छ भन्ने मेरो मूर्तिको सन्देश हो ।’

रुपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यमबाट आफूहरुले बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैल्याउने काम गरेको बताउनु भयो । उहाँले युवाहरुलाई मूर्तिकला सिक्न र त्यसबाट आफ्नो नाम र काम दुवै आर्जन गर्न पनि आह्वान गर्नुभयो ।

गत पुस १३ गतेबाट शुरु भएको राष्ट्रिय मूर्तिकला कार्यशाला माघ ८ गते सम्पन्न भएको हो । कपिलवस्तुको सगरहवामा कौशल राज्यका राजा विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेका थिए । तिलौराकोटदेखि नजिकै रहेको क्षेत्रमा भएको घटना विभिन्न बौद्ध साहित्यमा उल्लेख भएको छ ।