६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउनसक्छ : गभर्नर अधिकारी


2.951k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सबको अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताउनुभयो । उहाँले बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको बताउनुभयो । उहाँले तत्कालका लागि नेपाली बैंकहरु साना-साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको बताउनुभयो । उहाँले नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको बताउनुभयो । उहाँले अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताउनुभयो । उहाँले बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको बताउनुभयो । उहाँले वाह्य क्षेत्रको सुधार, बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या नभएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताउनुभयो । उहाँले बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको पनि बताउनुभयो ।

उहाँले अर्थतन्त्र सुधारको अवस्था आगामी दुई/तीन महिनामा देखिने बताउनुभयो । उहाँले पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि बताउनुभयो । उहाँले वाणिज्य बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको बताउनुभयो ।

पूर्वगभर्नर डा. तिलक रावलले नेपालीको वित्तीय क्षेत्रमा सुखद् अवस्था नरहेको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय ठूला संस्थाहरु मुनाफाका आधारमा अफ्ठ्यारो परेको दाबी गर्नुभयो । बैंक तथा वित्तीय संस्थाहरुको विगतको तुलनामा मुनाफा र प्रतिशेयर आम्दानी घट्दो अवस्थामा रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय बैंकहरुमा खराब कर्जा वृद्धि हुँदै गएको बताउनुभयो । तर, अहिलेको समग्र अवस्थालाई हेर्दा निराश हुनुपर्ने अवस्था भने नभएको बताउनुभयो ।