
काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् । खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।
आहा राराको २३औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन् । मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक भाग लिएका छन् । तर, कुनै पनि संस्करणमा दुवै टिम भिडेका थिएनन् ।
आहा रारामा मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
जावलाखेलको आहा रारामा यो चौंथो सहभागिता हो । यसपटक जावलाखेलले नरेश थापाको प्रशिक्षणमा टोलीलाई मैदान प्रवेश गराउँदैछ । जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउला पनि जावलाखेलबाटै खेल्दैछन् ।
त्यस्तै, मच्छिन्द्रले पनि २ जना विदेशी खेलाडीसहित अधिकांश राष्ट्रिय टोलीका अनुभवी खेलाडीलाई मैदानमा उतार्दैछ । मच्छिन्द्रबाट यसपटक राष्ट्रिय टिमका सनिष श्रेष्ठ, आशिष चौधरी, उत्सव राई, छिरिङ लामा, मनिष डाँगी खेल्दैछन् । मच्छिन्द्रको प्रशिक्षक सन्तोष न्यौपाने छन् । आजको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ र माघ १५ गते मनाङमर्स्याङ्दीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्