
सुशील गैरे
कपिलवस्तु । शाक्यकुल विनाशको घटनालाई मूर्तिकलामा उतारिएको छ । कपिलवस्तुको सरगहवामा शाक्यहरुको नरसंहार भएको बुद्धकालिन घटनालाई देशका विभिन्न स्थानबाट जम्मा भएका मूर्तिकारहरुले मूर्तिमा उतारेका हुन् ।
भगवान गौतम बुद्धको जीवनको उतराद्धकालमा हजारौं शाक्यहरुको नरसंहार भएको स्थान कपिलवस्तुको सरगहवालाई विश्वसामु चिनाउन प्रस्तर मूर्ति कलामा बौद्धकालीन सगरहवाको ईतिहास कोरिएको छ । ईसा पूर्व चौथो शताब्दीमा भएको शाक्यहरुको सामुहिक नरसंहारको घटनालाई मूर्तिमा उतार्दै नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिने भन्दै मूर्तिहरू तयार गरिएको हो ।
राष्ट्रिय स्तरमा ख्याति प्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारले सगरहवासँग सम्बन्धित विषयमा शाक्य वंशको पतन झल्किने गरी १८ वटा मूर्ति तयार पारेका छन् । कलाकारले ढुङ्गामा मूर्ति कुँदेर सगरहवाको ऐतिहासिक गतिविधिलाई प्रस्तरकलामा उतारेका हुन् । सगरहवाको पुरातात्विक महत्व तथा ऐतिहासिक विषय उजागर गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न स्थानीयसँग मिलेर नयाँ ढाँचामा काम गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो ।
कार्यशालामा बुद्धको शान्ति र युद्ध झल्काउन खोजिएको छ । मूर्ति निर्माणका लागि बाणगंगा नदीबाट एक वर्षअघि ढुङ्गा संंकलन गरिएको थियो । मूर्तिहरूलाई दिगो संरक्षण र व्यवस्थापनका लागि कपिलवस्तु नगरपालिकाले भगवान बुद्धसम्बन्धी विभिन्न स्थलको गुरुयोजना बनाएर अगाडि बढ्ने कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।
मूर्तिकारले क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, गौतम बुद्ध, विरुधक र शाक्य वंशको पतन झल्किने गरी मूर्ति निर्माण गरेका छन् । सगरहवाको ऐतिहासिक एवं पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा यो कार्यशाला कोसे ढुङ्गा सावित हुने लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले बताउनुभयो ।
सगरहवामा कौशल राज्यका राजा विरुधकले हजारौं शाक्यहरूको नरसंहार गरेको बौद्ध ईतिहास र साहित्यमा उल्लेख छ । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका, ललितकला प्रतिष्ठान, लुम्बिनी प्रदेशस्थित पर्यटन डिभिजन कार्यालयसहित स्थानीय सघंसंस्थाहरूको सहयोगमा कार्यशाला गरिएको हो ।
जगदीशपुर तालको काखैमा रहेको लम्बु सागरका रूपमा परिचित ५८ बिघा क्षेत्रफलमा फैलिएको सगरहवामा मुर्ति निर्माण भएसँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्