
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो ।
इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो ।
उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउनुहुन्छ ।
इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च रु. १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्