
स्याङ्जा (सागर न्यौपाने) । प्रायः सहकारी संस्था तथा उद्योग बाणिज्य जस्ता संघसंगठनले व्यापार मेला, महोत्सव प्रदर्शनी आयोजना गर्ने गर्दछन् । तर स्याङ्जाको एक विद्यालयले ६३ औं वार्षिकोत्सव पारेर कृषि उपज तथा प्रदर्शनी मेला आयोजना गरेको छ । मेलामा राखिएको फलफूल तथा तरकारी कुनै गाउँघरका किसानले फलाएको कृषि उपज नभइ सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले नै उत्पादन गरेका हुन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ बज्रेस्थित भञ्ज्याङ माध्यमिक विद्यालयमा अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको कार्यक्रम अन्र्तगत कक्षा ६ देखि १० सम्मका विद्यार्थीले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । ६१ जना विद्यार्थीले १० वटा टनेलमा तरकारी फलाएका छन् । आफुहरुले फलाएको तरकारी फलफूल टनेलबाट बिक्री वितरण गर्ने गरेकोमा विद्यालयले वार्षिकोत्सव आयोजना गरेर विद्यालयकै प्रांगणमा बेच्न पाउदा खुसी लागेको विद्यार्थी एन्जिला मल्लले बताइन् ।

बिक्रीपछि आएको आम्दानी विद्यार्थीकै कोषमा राखिने र उनीहरुको हकहित तथा आवश्यकतामा खर्च गर्ने गरिएको छ । पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले उत्पादन गरेका काउली, बन्दा, मुला, च्याउ, मह, बोडी प्रर्दशन गर्नुका साथै विभिन्न जातका बिरूवाहरू बिक्री समेत गरिएको थियो । साथै स्थानीय खाना कोदोको सेल, पकौडा, गुन्द्रुक भट्मासको अचार, गहत लगायत पर्दशन गरिएको थियो । विद्यार्थीले पनि काम गरे हुन्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बज्रेभञ्ज्याङ माध्यमिक विद्यालयका प्राध्यापक नेत्रप्रसाद गैरेले बताउनुभयो ।

हाल जिल्लाभर ४८९ सामुदायिक विद्यालय छन्, जसमध्ये ७३ वटा निजी विद्यालय रहेका छन् । स्कूलमा पढ्न जाने अचाक्ली रहर भए पनि घरको आर्थिक अवस्थाका कारण विद्यालय जान नसकेका धेरै बालबालिका छन् । अर्कोतिर प्लस टू नसक्दासम्म घरको कामै नगर्ने वातावरणमा पढ्ने बालबालिकाहरुको संख्या पनि देशमा ठूलो छ । तालिम सञ्चालन गरिएको गल्याङ नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र बाटोघाटोलाई प्राथामिकतामा राखेर अगाडि बढेको गल्याङ नगरपालिका नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।
यहाँका विद्यार्थीलाई स्थानीय परिकार बनाउनका साथै घरायसी कामको बारेमा समेत विशेष शिक्षा दिइएको छ । उनीहरुलाई आफुले उत्पादन गरेको तरकारी फलफूल तथा स्थानीय परिकार बिक्री वितरण गर्न कुनै समस्या छैन ।
प्रतिक्रिया दिनुहोस्