
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ ।
मन्त्रीहरुको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताएपनि काँग्रेस उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले तत्काल मन्त्री मण्डल परिवर्तन हुने अवस्था नरहेको बताउनुभएको हो ।
नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सत्तारुढ दलका नेताहरुबीच तत्काललाई अहिलेकै मन्त्रीमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताउनभयो ।
मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याएपनि खासै असर नपार्ने बताउनुभयो । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्री गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको बताउनुभयो । सकभर सहमति नभए प्रक्रियामा गएर भएपनि टिआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्