२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य


0
Shares

काठमाडौं । आईसीसी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको सामान्य लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६९ रन बनाएको छ ।

नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै, देव खनाल ३५, सुवास भण्डारी १८ तथा अर्जुन कुमालले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३–३ तथा इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १–१ विकेट लिए ।

समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ । सुपर सिक्समा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

सुपर सिक्सको समूह ए मा भारत र पाकिस्तानको समान ६–६ अंक भएको छ । समूह ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रबार भारतसँग खेल्ने छ ।