१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली


143
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गर्नुभयो । वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उहाँको आरोप थियो । उहाँले वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाउनु भयो । उहाँले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताउनु भयो ।

अध्यक्ष ओलीले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको बताउनु भयो । उहाँले स्काउटको सम्पती काँग्रेसले अहिलेसम्म लुटेर खाएको बताउनु भयो । रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिने लगायतका उदण्ड काम सरकारले गरिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले सरकार यस्तो छ, आजबाट स्काउटको अधिवेशन हुने, विदेशीहरु पनि अए । स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि त्यहाँ प्रधानमन्त्रीलाई संरक्षक भनेको हुन्छ । मानका लागि हो त्यो । मानका खातिर मान मात्रै हो । संरक्षकले निर्देशन दिन सक्नेछन् भनेको हुन्छ । निर्देशन दिने भनेको भताभुंग पार्न निर्देशन दिने भनेको होइन । सकारात्मक सुझाव दिने, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नलाई निर्देशन भनिँदैन । प्रधानमन्त्रीजीले विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ, चुनाव होला सायद । हिसाव गर्दा गठबन्धनलै नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् । नेपालको इज्जत के हुन्छ ? इज्जत, बेइज्जतको ख्याल छैन । त्यो सम्पती लुटेर, हडपेर त्यहाँ काँग्रेसले लुटेर खाइरहेको छ, अहिले पनि । दादागिरी मसल देखाएर खाइरहेको छ । स्काउट राम्ररी चल्नु भएन, स्काउटले राम्रोसँग काम गर्नु भएन भनेर यसलाइृ भंग गरेको हो ।’

अध्यक्ष ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरुलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाउनु भयो ।