
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्यमुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्याउने गरी सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
राज्य सञ्चालनका लागि आवश्यक संविधान बमोजिमको कानून निर्माणमा सरकारलाई दबाब दिनेगरी आफूहरुले आगामी संसदमा काम गर्ने निर्णय गरिएको पनि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले जनतासँग गरिएको बाचा, संविधानमा गरिएको व्यवस्था र नागरिक अधिकार तथा स्थानीय समस्या समाधानका लागि के, कस्ता पहलहरु भए र आगामी अधिवेशनमा त्यसलाई कसरी कसरी अघि बढाउनु हुन्छ भनि सांसदहरुलाई प्रश्न गर्नुभएको थियो । ती प्रश्नहरुमा केन्द्रित भएर सांसदहरुले आफ्नो कार्ययोजना पनि बैठकमा प्र्रस्तुत गरेको पनि प्रमुख सचेतक परियारले बताउनुभयो ।
बैठकमा सांसदहरुले संविधानले व्यवस्था गरेका मौलिक हकसँग सम्बन्धित कानून निर्माणमा पनि पार्टीले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी अधिवेशनमा पार्टीले कुन-कुन विधेयक पारित गराउनका लागि पहल गर्ने भनेर लिस्ट नै तयार पार्न आगामी माघ २२ गते पुनः पार्टी संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्