
काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अबको दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
यसअघि प्रहरीले लिएको चार दिनको समय सकिएपछि म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पक्राउ परेका चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो ।
पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यसअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्नेछ । त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराइ हाजिर जमानीमा छाड्न आदेश दिइएको छ ।
महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो ।
स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरु हाल ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्