७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संघमा १२ वटा मन्त्रालय मात्रै राखौं : पृथ्वीसुब्बा गुरुङ


221
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका उहाँले संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्ने धारणा राख्नुभएको हो ।

संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौति गरेर १२ वटामा झार्नुपर्ने उहाँको तर्क थियो ।

मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उपमहासचिव गुरुङले संघीय सरकार मातहतका विभागहरु कटौति गर्न र जिल्ला समन्वय समिति हटाउनुपर्ने समेत बताउनुभयो ।

प्रदेश र स्थानीय सरकारले संघीय सरकारले गर्ने काम पनि गर्ने भएकाले त्यहाँका विभागहरु हटाएर त्यहा कार्यरत कर्मचारीहरु तत्काल प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्नसके संघीयता कामकाजी हुने दाबी समेत गर्नुभयो । उहाँले संघीयतामा धेरै काम भएपनि त्यसको प्रचार हुन नसकेको पनि बताउनुभयो ।

उपमहासचिव गुरुङले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि पनि संघीय सरकारले तत्काल जनशक्ति र प्रहरी प्रशासनको आवश्यक व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।