
सुर्खेत– डोल्पाको मुडकेचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट)ले विद्युत उत्पादनका लागि अनुमतिपत्र पाएको छ । २३ अर्बमा निर्माण हुने उक्त आयोजनालाई ३५ वर्षका लागि लाइसेन्स दिइएको हो । ५ वर्ष निर्माण अवधि र ३० वर्ष कम्पनीले बिजुली उत्पादन गरेर आम्दानी गर्नका लागि अनुमति पाएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर १७ गते लाइसेन्स माग गर्दै विद्युत विकास विभागसमक्ष आवेदन दिएको थियो । विभागले मंगलबार पत्र लेख्दै लाइसेन्स दिएको कम्पनीलाई जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृत सापकोटाले जेनेरेसन लाइसेन्स पाएसँगै निर्माणको बाटो खुलेको बताए । सापकोटाले आयोजना निर्माणका लागि पूर्व तयारीको काम भइरहेको जानकारी दिए । उनका अनुसार ठेक्का निकालेर अर्को वर्षबाट निर्माण जाने तयारी छ । एक महिनामा फाइनान्सियल क्लोजर गर्नेगरी कम्पनीले गृहकार्य गरिरहेको छ ।
आयोजना डोल्पाको जगदुल्ला गाउँपालिकाको हुरिकोटमा ड्याम र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह रहने छ । विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको आयोजनाको करिब ६.२ किमी सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन स्थलमा ल्याइने छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा कन्सोर्टियम फर्म (सहवित्तीयकरण) गरेर लगानी जुटाउन लागिएको छ । नबिल बैंकले कन्सोर्टियमको सहनेतृत्व गर्नेछ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चय कोषलगायत अन्य बैंक तथा वित्तीय संस्था कन्सोर्टियममा सहभागी हुनेछन् । एचआईडीसीएलले लगानी गर्ने प्रतिबद्धता जनाएर कम्पनीसँग सम्झौता गरिसकेको छ । आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर) बाट जुटाइने छ । आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनीले ठेक्का निकाल्नका लागि बिडिङ डकुमेन्ट समेत तयार पारिसकेको छ ।
आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का निकाल्न लागिएको छ । यस्तो मोडलमा ठेक्का निकाल्दा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ भने लागत समेत बढाउन पाइँदैन । कर्णाली प्रदेश सरकार र डोल्पामा दुई पालिकाले आयोजनामा शेयर लगानी गरिरहेका छन् । आयोजना निर्माण गर्नका लागि भेरी करिडोरको त्रिबेणीबाट भेरी नदी पार गरी मुडकेचुलाको इल पुग्ने गर्दछ । अहिले त्रिबेणीमा पुल निर्माणको काम जारी रहे पनि सन्तोषजनक नभएको पाइएको छ । क्याराभानले लिएको ठेक्का अर्को निर्माण व्यावसयीलाई बिक्री गर्दा काममा ढिला भएको हो ।
सम्झौता मितिअनुसार अहिलेसम्म पुल निर्माण भइसक्नु पर्ने थियो । क्याराभानका चन्द्र थकालीको बदमासीले गर्दा पुल निर्माणको काम बिलम्ब हुनुका साथै ठेक्का नै बिक्री भएको छ । त्यस्तै त्रिबेणीबाट इलसम्म जानका लागि करिव २ किलोमिटर कडा चट्टान भएकाले अहिले विस्फोटका कामहरु भइरहेका छन् । त्रिबेणीबाट आयोजना स्थल जान र आउन बीचमा पुल निर्माण गर्नुपर्ने भएको छ । पुलको काम समेत गतीका साथ लिन थालिएको छ । यहाँबाट उत्पादन भएको विद्युत जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा रहेको ४०० केभी प्रशारण लाइनको सब स्टेशनमा ल्याएर जडान हुने छ ।
उक्त सव स्टेशनबाट सुर्खेतको मैनतडामा करिब १५० किलोमिटर लामो प्रशारण लाइनबाट केन्द्रीय प्रशारणमा विद्युत जडान गर्ने लक्ष्य रहेको छ । आयोजना निर्माण गर्न लगानीदेखि अन्य कामहरु भए पनि पुल निर्माणको ढिलाइले गर्दा आयोजना प्रभावित हुने आशंका गरिएको छ । आयोजना निर्माण गर्नका लागि जाजरकोटको चौखामा ११ केभी प्रशारण लाइनको सव स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
ताक्सुगाड जलविद्युत आयोजना ७.२ मेगावाट पनि निर्माणको चरणमा जाने अन्तिम तयारी रहेको छ । भेरी करिडोर जाजरकोट हुँदै रुकुम पश्चिमको आठबीसकोटको त्रिबेणीबाट डोल्पाको इल तथा हरिकोटसम्म सडकको काम पूरा भएमा आयोजना निर्माणका लागि थप बल पुग्ने छ । अहिले जाजरकोटबाट तल्लुसम्म पिचको काम चलिरहेको छ । बाँकी तल्लुबाट त्रिबेणीसम्म ठेक्का लाग्न सकेको छैन । नेपाली सेनाले निर्माण गरेको अस्थायी ट्रयाकमा अहिले यातायातका साधनहरु चलिरहेका छन् । (साभार स् कारोबार दैनिक)
प्रतिक्रिया दिनुहोस्