
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा मार्फत शेयर बजारप्रति लचिलो नीति लिने अपेक्षामा बजार सोमबार सकारात्मक बनेको हो ।
बजार परिसूचक १५ दशमलव ३३ अंक बढेपछि नेप्से २१०१ दशमलव १६ को बिन्दुमा पुगेको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएकोमा सोमबार ३१४ वटा कम्पनीको एक करोड १ लाख ८ हजार कित्ता शेयर ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।
सोमबार बोटलर्स नेपाल लिमिटेड, समाज लघुवित्त, कुथेली बुखरी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफि हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मूल्य भने आज सर्वाधिक ८ दशमलव ८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधार सोमबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको छ । १३ वटा उपसमूह मध्ये अन्य उपसमूह बाहेक अरु सबै उपसमूह बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक २ दशमलव २२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्