
काठमाडौं । सरकारमा रहेको माओवादी केन्द्रको विधान अधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने अधिवेशन तीन दिनसम्म चल्नेछ ।
अधिवेशनमा देशभरका १२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहने जनाइएको छ ।
पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।
नेतृत्व चयनको विषयमा माओवादी नेताहरु विभाजित रहेको अवस्थामा हुन लागेको विधान अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्