
काठमाडौं । आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ । बुधबार बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले बुधबार विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन् ।
वसन्त ऋतु प्रारम्भ हुने भएकाले बुधारको दिनलाई वसन्त पञ्चमीको नामले समेत चिनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन् ।
वसन्त ऋतुको शुरूवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ । बुधबारको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ । बुधबारको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतवन्धलगायत सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने ज्ञाताहरु बताउँछन् ।
यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ । उपत्यकाका स्वयम्भूनाथ, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा हुने गर्दछ ।










प्रतिक्रिया दिनुहोस्