३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको नवनिर्मित भवनको उद्घाटन


156
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ ।

बुधबार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले गर्नुभएको हो ।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरु भएको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा साना ठाँउ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताउनु भयो । सिमित स्रोत साधनबीच पनि विभागले गुणस्तरीय पत्रकारिता शिक्षा दिइँदै आएको उहाँको भनाई छ । उहाँले पत्रकारिताको अध्यापन पनि नयाँ ढङ्गबाट लैजानुपर्छ भन्ने उद्देश्यले विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना बन्न सफल भएको दाबी गर्नुभयो ।

विभागका प्रमुख खनालले विभागको कुनै ठूलो कार्यक्रम र नयाँ प्रविधि राख्न समेत ठाँउको अभाव भएकाले पनि सबैको साथ सहयोगमा नयाँ संरचना र पूर्वाधार तयार बनाउन सफल भएको बताउनुभयो । उहाँले विभागको सुविधासम्पन्न भवन सजिलो तरिकाले भन्दा पनि सबैको सहयोगबाट सहज भएको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौति पनि थपिएको बताउनुभयो । उहाँले विश्वमा हुने दिनप्रतिदिन हुने नयाँ परिवर्तन,नयाँ विकास र उपलब्धीहरुलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँल त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै जानुपर्ने बताउनुभयो । उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको स्तरवृद्धिको लागि विश्वविद्यालयले गर्नुे सहयोग सधैँ गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो । नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन् । त्रिविले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि र २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।