२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको विधान सम्मेलनमा बुधबार १३ समूहबाट छलफलको निष्कर्ष प्रस्तुत


208
Shares

प्रत्यक्ष निर्वाचित पार्टी कमिटी र पदाधिकारीमा प्रत्याह्वानको व्यवस्था गर्नुपर्ने माओवादी नेताहरुको सुझाव

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेताहरुले पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र पदाधिकारीहरुलाई प्रत्याह्वान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार १३ वटा समूहले समूहगत छलफलको प्रतिवेदन बैठकमा पेश गरेका थिए । समूहगत छलफलको निचोड बैठक समक्ष प्रस्तुत गर्दै नेताहरुलाई पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा जोड दिएका हुन् । त्यस्तै, पार्टीका पदाधिकारीहरुलाई ‘प्रत्याह्वान’ गर्ने व्यवस्था गर्नुपर्नेमा पनि नेताहरुको जोड छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरुले पार्टीको विधान उल्लंघन हुँदैन भन्ने कुराको ग्यारेन्टी नेतृत्वले गर्नुपर्ने धारणा राखेका जानकारी दिनुभयो । पार्टीको केन्द्रिय कमिटी १५१ जनाको बनाउन अधिकांशको सुझाव रहेको पनि उहाँले बताउनुभयो । विधानलाई संक्षिप्त बनाउँदै नियमावली व्याख्यात्मक बनाउनुपर्ने सुझाव पनि नेताहरुले दिएका छन् । त्यस्तै, पदाधिकारी र स्थायी कमिटीमध्ये एउटा कमिटी मात्रै राख्नुपर्ने नेताहरुले सुझाव राखेका उहाँले बताउनु भयो ।

जनवर्गिय संगठनहरुको तत्काल सम्मेलनगरी पुनःगठन गरेर जानुपर्नेमा पनि नेताहरुको जोड छ । त्यस्तै, व्यक्तिहरुलाई १६ वर्षमै पार्टी सदस्यता दिने व्यवस्था विधानमा गर्नुपर्ने धारणा पनि नेताहरुले राखेका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने जनाइएको छ ।