
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ ।
माओवादी केन्द्रको बिहीबार सम्पन्न विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनुभयो ।
प्रवक्ता सापकोटाले पदाधिकारीमा भने केन्द्रिय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिनुभयो । केन्द्रिय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उहाँको भनाई छ । त्यस्तै, विधान अधिवेशनले केन्द्रिय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ । आयोगहरुमा १५ जनासम्म सदस्य राख्ने भनिएको छ ।
प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुराहरुलाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताउनुभयो । अधिवेशनले पार्टीको नाम र चुनाव चिन्ह तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, माओवादी केन्द्रले सबै जनवर्गिय संगठनहरुको सम्मेलन गर्ने र पुनःगठन गर्ने निर्णय भएको छ । अधिवेशनले भारत, मध्यपूर्व र बाँकी विश्वमा गरी ३ वटा छुट्टाछुट्टै प्रदेशस्तरीय समिति बनाउने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले आगामी अधिवेशन माथिल्लो तहको कमिटीबाट सुरु हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्