
काठमाडौं । नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरको आयोजनामा नेपाल डिजास्टर मेडिसिन एण्ड म्यानेजमेन्ट अन्तर्राष्टिय सम्मेलन २०२४ सुरु भएको छ । सम्मेलनले विपद् व्यवस्थापनको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
भारत, युके, सिंगापुर, संयुक्त राज्य अमेरिका, अष्ट्रेलियालगायतका देशका विषेशज्ञहरुको सहभागिता रहेको यो सम्मलेन विश्वसँग क्षेत्रीय विपद् औषधि र व्यवस्थापनको विकासमा धेरै उपयोगी हुने आयोजकको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालले कोरोना महामारीपछि जाजरकोट र बझाङ्को भुकम्पमा पनि आफुहरुले गरेका कामको जस नपाएको गुनासो गर्नुभयो । यद्यपी यस क्षेत्रमा काम गर्दा आत्म सन्तुष्टि हुने भन्दै उहाँले निरन्तर लागि पर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विपद्को समयमा काम गर्ने डाक्टर, नर्स, प्यारामेडिक्स र एम्बुलेन्स चालकहरुलाई नेपाल डिजास्टर मेडिसिन एण्ड म्यानेजमेन्ट सम्मानबाट सम्मानित गरिएको छ ।
ललितपुरमा २ दिनसम्म चल्ने सम्मेलनमा अन्वेषक, डाक्टर, नर्स र प्यारामेडिक्सहरूको सहभागिता रहेको छ । सम्मेलनमा एडिनबर्गको पहिलो सर्जनहरूका लागि रोयल कलेजको प्रि–हस्पिटल ट्रमा केयर कोर्स पनि सुरु गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्