२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्रीसँग मेरो कुनै विवाद छैन : अर्थमन्त्री महत


299
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो दाबी गर्नुभएको हो ।

अर्थमन्त्री महतले केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा विवाद बढेको भन्ने आएपनि त्यस्तो कुनै विवाद नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसँग आफ्नो हेरक विषयमा निरन्तर रुपमा संवाद भइरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग केही विषयमा फरक मत हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनका आधारमा काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थमन्त्रालयले बजेट कटौती वा आकार नघटाएको भन्दै आम्दानी र खर्चको अनुमानित मात्रै गरेको बताउनुभयो । उहाँले सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेकामा मन्त्रालयले अर्धवार्षिक मूल्यांकन गरी १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुनसक्ने संशोधित लक्ष्य राखेको बताउनुभयो । उहाँले बजेट कटौति गर्ने अर्थ मन्त्रालयको कुनै सोच नभएको बताउनुभयो ।

अर्थमन्त्री महतले माघ मसान्तसम्म भएको आम्दानी र खर्चका आधार संशोधित लक्ष्य सार्वजनिक गरिएको बताउनुभयो । उहाँले सरकारले बजेटमा राखेको लक्ष्य अनुसार पुँजीगत खर्च र राजस्व संकलन नभएको बताउनुभयो । उहाँले मन्त्रायले खर्च कम गर्ने, राजश्व संकलन कम गर्ने नीति नभएर अनुमान गरेभन्दा बढी खर्च र राजस्व संकलन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको बताउनु भयो ।

अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिलिङ तोकेर सिफारिस गरेको बताउनुभयो । उहाँले आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्बको ल्याउन सिफारिस गरेको बताउनुभयो । उहाँले बजेट निर्माणका लागि प्रधानमन्त्री र स्रोत अनुमान समिति र अर्थ मन्त्रालयको समेत सहभागितामा आवश्यक छलफलबाट नै बजेटको सिलिङ तोकिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले एउटा सिलिङ र अर्थ मन्त्रालयले अर्को तथ्याङ्क राख्ने विषय नभएको बताउनुभयो । उहाँले सम्भावना,चुनौति र आवश्यकताको विषयमा खुला रुपमा छलफल भएको बताउनुभयो ।

अर्थमन्त्री महतले मुलुकको आवश्यकता र स्रातको दृष्टिकोणबाट छलफल भएर बजेट सिलिङ तोकिएको भन्दै बजेटको सिलिङको विषयमा दुविधा वा विवाद नभएको उल्लेख गर्नुभयो ।