
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव न्युनिकरण गर्न वातावरण संरक्षण गर्र्नुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले कार्बन उत्सर्जनका प्रभावहरुको न्युनिकरण योगदानकर्ताको हैसियतबाट प्राप्त हुने लाभको दाबी गर्ने सक्षमतासमेत नेपालसँग हुनुपर्ने बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले वन, वन्यजन्तु लगायत जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलनको विषय सर्वोपरी र बहुआयामिक महत्वको भएपनि थुप्रै समस्या र चुनौतिहरु विद्यमान रहेको जिकिर गर्नुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले औद्योगिक एवं भौतिक विकासले वातावरणीय पक्षमा जोखिम स्थिति सिर्जना गरिरहेको दाबी गर्नुभयो । उहाँले विकास र वातावरणीय सन्तुलन कायम गरी दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा पनि चुनौतिहरु कायम रहेको पनि बताउनुभयो । उहाँले जनसंख्याको तिब्र वृद्धि, अव्यवस्थित बसोवास, प्राकृतिक श्रोतमाथिको अत्याधिक दोहनका कारणबाट समेत वातावरणीय विनाश भइरहेको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले वन्यजन्तुको चोरी, शिकारी तथा अवैध व्यापार र वन पैदावरको अवैध कटानी, ओसारपसार तथा बिक्री वितरणका कारण जैविक विविधता र वातावरणीय संरक्षणमा थप चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले जलवायु परिवर्तनका कारण पर्नसक्ने प्रभावहरुको रोकथाम र न्युनिकरणका लागि विभिन्न उपायहरुको अवलम्व गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्