२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकार जनतामा आशा जगाउन सफल : वर्षमान पुन


299
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ ।

शनिबार पोखरामा प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गर्नुभयो ।

नेता पुनले नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको बताउनुभयो । उहाँले सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उल्लेख गर्नुभयो ।

नेता पुनले भन्नुभयो, “अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ । विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो । ठूला पुँजी र आयोजनामा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ । अर्थतन्त्र चलायमान गराउनुपर्छ।”

नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताउनुभयो । उहाँले सपटक खुला छलफल गरी बजेटको प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । जनताको सहभागिता र सरोकारमा बजेट बनाइने बताउनुभयो ।

नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभयो । निर्वाचन प्रणालीले गठबन्धन अनिर्वाय गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उहाँले उल्लेख गर्नुभयो ।

नेता पुनले पार्टीको हालै सम्पन्न विधान अधिवेशनले वडा तहसम्म छलफल गरेर सुझावसहित विधानमा परिमार्जन गरिएको बताउनुभयो । उहाँले अब विधानअनुसार पार्टी सञ्चालनको वातावरण बनाएको बताउनुभयो ।