१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पत्रकारिता क्षेत्रलाई विकसित, व्यवसायिक र समृद्ध बनाउन सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री शर्मा


78
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रीत रहेर गणतन्त्रको स्थायित्व र जनताको जिवन रुपान्तरणमा सिंगो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको बताउनुभयो । सरकारले नक्कली भूटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानविनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरुले सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पु¥याउने र जनताको आशा, अपेक्षा र गुनासाहरुलाई सरकार समक्ष पु¥याउने कामका लागि सहजिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका सरकारी सञ्चार माध्यमहरु विगतका निरंकुश सरकारको पालामा रहेका जस्तो नभएको बताउनुभयो ।