
काठमाडौं । मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यहरुले गरेका छन् ।
सोमबारबाट गोदावरीमा सुरु भएको चार दिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरुले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय लिन सो बैठक सफल हुने प्रतिक्रिया दिएका हुन् । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएका छन् ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले व्यवस्थामाथि भईरहेको प्रहारलाई निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनतामा रहेको निराशालाई आशामा बदल्न पनि महासमिति बैठकले सफल हुने बताउनुभयो ।
अर्का महासमिति सदस्य डा. सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्वपूर्ण हुने बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने विषयमा पनि नेपाली काँग्रेसले सो बैठकबाट ठोस निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अंगिकार गर्नुपर्नेमा अर्का महासमिति सदस्य भोजराज श्रेष्ठले जोड दिनुभयो । उहाँले जनताको समस्या समाधान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि स्पष्ट दृष्टिकोण बनाउन बैठक फलदायी हुने बताउनुभयो ।
कांग्रेस महासमिति बैठक ४ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्