२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

विश्वकप लिग टु : नेदरल्याण्डको पहिलो जित


1.807k
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ को आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड विजयी भएको छ ।

सोमबार त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो ।

नेदरल्याण्डले ७ विकेटले नामिबियालाई हरायो । नेदरल्याण्डको जितमा आर्यन दत्त एक्लैले ६ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिएर ६ विकेट लिएका हुन् । त्यस्तै नेदरल्याण्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

१२४ रनको सामान्य लक्ष्य पाएको नेदरल्याण्डका लागि ब्याटिङमा मिचेल लेभिटले ५७ रन बनाए भने म्याक्स ओ डाओडले २८ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । बास डी लिडेले २१ रन बनाए । नामिबयाका लागि गेरहार्ड इरासमुसले ७ ओभर बलिङ गर्दै २३ रन खर्चिएर तीन विकेट लिए । ब्याटिङमा जेजे स्मिथले सर्वाधिक २६ रन बनाए भने जेन ग्रिनले १९, रुवेन ट्रम्पलम्यानले २० रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

जितसँगै नेदरल्याण्डले पनि लिग टु को यस सिजनको खेलमा पहिलो अंक जोडेको छ । अंक तालिकामा नेपाल, नामिबिया र नेदरल्याण्ड तीन टोलीले नै समान २/२ अंक जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल शिर्ष स्थानमा उक्लिएको छ । नेपाल र नामिबियाबीच बुधबार खेल हुँदैछ ।