
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ ।
दिउँसो १ बजे सुरु गर्ने तयारी भएपनि बैठक केही ढिलो गरी सुरु भएको हो ।
ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी बैठक उदघाटन गर्नुभयो । बैठक चार दिन बिहीबारसम्म चल्ने छ ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुनेछ ।
अर्थमन्त्रीसमेत रहनुभएका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिनेछ । हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइने जनाइएको छ ।
महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ । महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १ सय ६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी भएको बताईएको छ ।
सबै क्षेत्रबाट गरि बैठकमा दुई हजार बढी प्रतिनिधि सहभागी रहेका कंग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्