
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमै निर्णय लिइने बताउनुभएको छ ।
सोमबार पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर हुने बताउनुभयो । उहाँले पार्टीले तत्कालिन परिस्थितिअनुसार गठबन्धनको औचित्य र सान्दर्भिकतामा ठोस मूल्यांकन गरी त्यसै बेलामा नै निर्णय लिने बताउनुभयो ।
सभापति देउवाले पार्टीलाई संगठनात्मक रुपले थप सबल बनाउनका लागि विधान संशोधनका बारेमा आवश्यक छलफल गर्न सकिने बताउनुभयो । उहाँले जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि काँग्रेसलाई मान्य नहुने बताउनुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेकुरामा नेपाली काँग्रेस दृढ रहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने बताउनुभयो ।
सभापति देउवाले देशको सार्वभौमिकता, सार्वभौम सत्ता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति, संक्रमणकालिन न्यायजस्ता विषयमा सबै राजनीतिक दलहरुका बीचमा समान धारणा हुनुपर्ने बताउनुभयो । उहाँले यसको निम्ति संवाद, सहमती र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्