
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडा अध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्मका सम्पत्ति छानविन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताउनुभएको हो ।
उपसभापति गुरुङले महासमिति बैठकले यस्तो प्रश्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरु नेताजस्ता देखिएका बताउनुभयो । उहाँले महासमिति बैठक क्रोनी क्यापिटालिजमका बिरुद्धमा एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको पनि बताउनुभयो । उहाँले भ्रष्टाचार रहेसम्म वर्गिय असमानता कायम रहने बताउनुभयो ।
उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताउनुभयो । केन्द्रिय समिति बैठकले गरेका निर्णयहरुलाई महासमिति बैठकले सच्याउन पनि सक्ने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्