२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली र दाहालसँग माधव नेपालको आग्रह : देश विकासको खाका बनाएर अघि बढौँ


2.119k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी इन्जिनियरिङ्ग एशोसिएशन नेपाल, मधेसले आयोजना गरेको कार्यक्रमलाई जनकपुर धाममा सोमवार सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताउनु भयो । उहाँले सबै बुद्धिजिवी, अनुभव प्राप्त व्यक्तिहरुसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले देशभरका सडकहरु खाल्डाखुल्डीरहित हुनुपर्ने बताउनु भयो । उहाँले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

‘नेपालमा कति वटा हवाई मैदान चाहिन्छ, कहाँ कहाँ चाहिन्छ ? चुरेमा बस्ती बसिरहेको छ, अतिक्रमण बढिरहेको छ । त्यही ठाउँमा हामीले बाटो बनाइरहेका छौँ । कहाँ के गर्नुपर्छ भन्नेकुराको सामग्रिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरु बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरु । विज्ञहरु सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।’ अध्यक्ष नेपालले भन्नुभयो ।

अध्यक्ष नेपालले सडक तथा हवाई मार्ग निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन गर्नु उचित नरहेको टिप्पणी गर्नुभयो । गुणस्तरहीन सडक बनाएर राज्यको ढुकुटीको दोहन गर्ने ठेकेदारलाई कारवाही हुनुपर्नेमा समेत जोड दिनुभयो ।