२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाजुराको माथिल्लो भेगमा ६ महिनापछि हिमपात


0
Shares

काठमाडौं । बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । बाजुरको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमूल गाउँपालिकाका उच्च लेकाली भेगमा ६ महिनापछि हिमपात भएको हो । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।

हिमपातका कारण उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा जनजीवन कष्टकर बनेको छ । यस्तै बेँसीतिर समेत पानी परेका कारण जाडो बढेको छ ।

बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र सेताम्मे भएको छ । वर्षा र हिमपात भएपछि पशुचौपालाई घाँस– दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् । यसैगरि चिसोसँगै हिमपात भएपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुशी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेको समयमा वर्षा र हिमपात हुँदा कृषक भने दंग परेका छन् ।

हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा यातायात समेत प्रभावित भएको छ ।