
काठमाडौं । देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका छन् ।
उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् ।
उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए ।
१७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेशका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।
यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले लघुवित्तीय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको बताउनुभयो ।
लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्