२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बिग्रिएको अर्थतन्त्र सुधारेँ : अर्थमन्त्री महत


442
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गर्नुभएको छ ।

मंगलबार गोदावरीमा जारी नेपाली कांग्रेसको महासमितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले यस्तो दाबी गर्नुभएको हो ।

अर्थमन्त्री महतले सरकारमा चैतमा अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको वाह्य क्षेत्रलगायतको सुधार गरेको जिकिर गर्नुभयो ।

अर्थमन्त्री महतले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल अवस्थामा भएपनि कार्यभार सम्हालेको ११ महिनामा अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक बनाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले पर्यटक आगमन, होटल र रेस्टुरेण्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार समेत बढेको सभालाई जानकारी दिनुभयो ।

अर्थमन्त्री महतले नेपालमा रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको, विद्युत उत्पादन र निर्यात बढेको, घरजग्गा र शेयर बजार कारोबार वृद्धि हुँदै गएको र सार्वजनिक खर्च बढ्दो क्रमा रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा सरकारको पूँजीगत खर्च वृद्धि हुने विश्वास रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले सरकारको बजेट प्रणाली र बजेट विनियोजन भन्दा बाहिर गई लगाइएका ठेक्का थुप्रिएको रहेका आयोजनालाई रोक्ने काम गरेको बताउनुभयो । उहाँले चाहिने भन्दा ज्यादा खुकुलो र पछि चाहिने भन्दा कठोर मौद्रिक नीतिले आर्थिक क्रियाकलापको बिस्तारमा अवरोध खडा गरेको अवस्थामा आफूले राष्ट्र बैंक सँगको समन्वयमा मौद्रिक नीतिमा सहजता ल्याएको दाबी गर्नुभयो ।

अर्थमन्त्री महतले निजी क्षेत्रमा निराशा रहेकोमा अहिले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताउनु भयो । अर्थमन्त्री डा. महतले समष्टिगत अर्थतन्त्रका अधिकांश परिसूचकमा सुधारसँगै अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपणअनुसार सन् २०२५ मा ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको बताउनुभयो । उहाँले वित्तीय प्रणालीमा लगानीयोग्य रकम उल्लेख्यरुपमा रहेको र कर्जाको व्याजदर एकल अंकतर्फ झर्ने क्रममा रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले मुलुकमा लगानी वृद्धि गर्न बजेटको माध्यमबाट लिइएका सुधारका प्रयास र निजि क्षेत्रको मनोबल वृद्धि गर्न चालिएका कदमको कारण आर्थिक गतिविधिमा सुधार आएको दाबी गर्नुभयो । उहाँले आर्थिक विकासकोलागि उत्पादन बढाउन निजी क्षेत्रलाई आर्थिक वृद्धिको वाहक शक्तिको रुपमा बिकास गरी सरकारले सेवा प्रवाह, नियमन सुशासन र साधनको सही वितरणमा केन्द्रित गरिने बताउनुभयो । उहाँले यिनै समष्टिगत मार्गचित्रभित्र रही आगामी वर्षको वार्षिक नीति तथा बजेट तर्जुमा प्रक्रियालाई अगाडी बढाइने प्रतिवद्धता जनाउनुभयो ।

अर्थमन्त्री महतले सार्वजनिक खर्च व्यवस्थापनमा थप गम्भीर खालका चुनौतिहरु रहेको बताउनुभयो । उहाँले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृतिले थप समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले वैदेशिक सहायताको उपयोग क्षमता कमजोर रहेको बताउनुभयो । उहाँले सार्वजनिक ऋण व्यवस्थापनमा चुनौति कायमै रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा वित्तीय साधनको परिचालन गरिने जानकारी दिनुभयो । उहाँले नेपालमा सम्भावनाको रुपमा पहिचान गरिएका जलविद्युत, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधि उद्योगमा आन्तरिक र वाह्य लगानी परिचालन गर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिको संवाहकको रुपमा विकास गरी यस क्षेत्रको नेतृत्वदायी भुमिकालाई प्रोत्साहन गर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले खर्च प्रणालीको प्रभावकारिता बढाउन आयोजना र कार्यक्रमको प्राथमिकीकरणमा जोड दिनुका साथै उत्पादनशील क्षेत्र र आर्थिक–सामाजिक पूर्वाधारमा लगानी उल्लेख गर्नुभयो । उहाँले सामाजिक सुरक्षा खर्चलाई लक्षित वर्गमा प्राथमिकताको आधारमा व्यवस्थित गरिने पनि बताउनुभयो ।