
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पीडितले समयमै न्याय पाउन सके मात्र न्यायपालिकाप्रतिको जनआस्था वृद्धि हुने बताउनुभएको छ ।
बुधबार सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको २०७९–८० को वार्षिक प्रतिवेदन बुझ्ने क्रममा उहाँले न्यायपालिकाको उद्देश्य हासिल हुन जनआस्था नै प्रमुख माध्यम भएको भन्दै त्यसका लागि पीडितले समयमै न्याय पाउनुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले न्यायिक प्रक्रियामा सूचना प्रविधिको विकासलाई सुदृढ गर्दै प्रविधिमैत्री बनाएर तारेख व्यवस्थापन, फैसला कार्यान्वयन प्रभावकारी बनाउने, दण्ड जरिवाना असुलीको अभियानको प्रशंसा गर्नुभएको थियो । उहाँले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र गतिशील एवं न्यायको मर्मलाई दरिलो बनाएर जनविश्वास थप मजबुत बनाउन आग्रह गर्नुभयो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्