१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


श्रीमती, छोरी र नातिनीको हत्या गरि राजुले गरे आत्महत्या


9.607k
Shares

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

काठमाडौं । काठमाडौंको सीतापाइलामा बस्दै आएका सोलुखुम्बुका एक व्यक्तिले परिवारका तीन सदस्यको हत्या गरी आफूले आत्महत्या गरेका छन् । श्रीमती, छोरी र नातिनीको हत्या गरी नजिकैको जंगलमा गएर झुण्डिए । झुण्डिनु अघि उनले ससुरालीमा फोन गरी घटनाको जानकारी गराएका थिए ।

बुधबार बिहानै काठमाडौंको नागर्जुन नगरपालिकाको सीतापाइलाको भैरवटोलमा हत्याकाण्ड भयो । भैरवटोलको एक घरमा डेरा लिइ बस्दै आएका एक महिला, उनकी छोरी र सौतेनी छोरापट्टिकी नातिनीको हत्या भयो । सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी विश्वकर्माले आफ्नी ३९ वर्षिया श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षिया छोरी अनिशा श्रेष्ठ र ईश्वरीको पूर्व श्रीमान पट्टिको छोराको छोरीको एकसाथ हत्या गरेका थिए । तीन जनाको हत्या गर्नुअघि विश्वकर्माले १५ वर्षको छोरालाई नास्ता किन्न पसलमा पठाएको र झड्केलो छोरापट्टिकी बुहारीलाई सीतपाइला पठाएको खुलासा भएको छ ।

हत्यालगत्तै घटनास्थल पुगेको प्रहरीका अनुसार हत्यामा ह्यामर र कैंची प्रयोग भएको थियो । हत्यालगत्तै विश्वकर्माले ससुराबा अर्थात ईश्वरीका बुवा इन्द्रजीत श्रेष्ठलाई फोन गरी मैले ईश्वरीको हत्या गरेको जानकारी गराएको श्रेष्ठ बताउनुहुन्छ ।

आफन्तहरुलाई फोन गरेर घटनाको विवरण बेलिबिस्तार लगाएका उनले सोही ठाउँ नजिकैको हरिसिद्धी जंगलमा पुगेर पासो लगाएर आत्महत्या गरेका थिए । परिवारका तीन तीन जनाको हत्या गर्ने घटनाको कारण भने खुल्न सकेको छैन । उनीहरु बस्दै आएको घरका धनीले विश्वकर्मा बाहिर देख्दा निकै शान्त स्वभावका देखिने गरेकाले यस्तो घटना सुन्दा अन्योल परेको घरबेटी बद्रीप्रसाद बजगाईं बताउनुहुन्छ ।

मृतक प्रतिमाले दोश्रो विवाह गरेका काजी सामान्य मजदुरी गर्दै आएको बुझिएको छ । केही महिना अघि एक पुरुषले प्रतिमालाई बलात्कार गरेको घटना अदालतमा विचारधिन रहेको पनि खुलेको छ । घटनाको कारण जेसुकै भए पनि पछिल्लो समय नेपाली समाजमा बढ्दै आएको कठोर व्यवहारको यो अर्को उदाहरण हो भन्न सकिन्छ ।