१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


एमाले केन्द्रिय कमिटीमा नेताहरु भन्छन् – ‘पार्टीको संसदीय भुमिका कमजोर भयो’


286
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रिय किमिटी सदस्यहरुले पार्टीको संसदीय भुमिका कमजोर भएको आवाज उठाएका छन् ।

बुधबार च्यासलमा केन्द्रिय कमिटी सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँले विकास निर्माण सम्बन्धी र जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्ने आवाज उठेको बताउनुभयो ।

प्रचार विभाग प्रमुख गौतमले आजको बैठकमा विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रस्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको बताउनुभयो । उहाँले बिहीबारको बैठकमा छलफल भएका कुरालाई राख्नेगरी नेतृत्व तोकिएको बताउनुभयो ।

प्रचार विभाग प्रमुख गौतमले प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको पनि बताउनुभयो ।