
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को २० औं उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त हुनुभएको छ ।
समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बराललाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य विनोद न्यौपानेले जानकारी दिनुभएको हो ।
सहकुलपति समेत रहनुभएका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित प्रा.डा चित्रबहादुर बुढाथोकी र प्रा.डा टंकनाथ धमला गरी तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका तीन जनामध्ये बराललाई प्रधानमन्त्री दाहालले नियुक्त गर्नुभएको हो ।
व्यवस्थापन संकायका प्राध्यापक बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति रहिसक्नुभएको छ । डा. बरालले दिल्ली विश्वविद्यालयबाट क्यापिटल ‘स्ट्रक्चर एन्ड कस्ट अफ क्यापिटल’मा विद्यावारिधी गर्नुभएको जनाइएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १४ जना छनौटमा परेका थिए । तीमध्ये समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
शैक्षिक योग्यता, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्