९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गंगामायासहितका पीडितलाई तत्काल न्याय सुनिश्चत गर : एम्नेस्टी


0
Shares

काठमाडौं, असार ५ । एम्नेस्टी इन्टरनेसनलनले गंगामाया अधिकारीलगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितहरुलाई तत्काल न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

गंगामायासहित वि.सं. २०५२ देखि २०६३ सम्म चलेको नेपालको सशस्त्र द्वन्द्वकाक्रममा भएका अपराधका पीडितहरुका लागि न्यायको आवाज उठाइरहेका नेपालका पीडित समूह, नागरिक समाज र राष्ट्रिय मानवअधिकार आयोगप्रति एम्नेस्टी इन्टरनेसनल नेपालले ऐक्यबद्धता पनि व्यक्त गरेको छ ।

गंगामाया अधिकारीले भोकहड्ताल थालेको २१ दिन बित्दा पनि नेपाल सरकारले देखिनेगरी कुनै काम नभएको र अहिलेसम्म गंगामायाप्रति दर्शाएको जवाफहीनताप्रति चिन्तित बनाएको पनि एम्नेस्टी इन्टरनेसनल नेपालले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुईंकेलले यसबीचमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र प्रधानमन्त्रीबीच भएका संवादले गंगामाया अधिकारीलगायत द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका सबै पीडितलाई न्याय प्राप्त हुने बाटो निर्माण गरोस् भन्दै संक्रमणकालीन न्याय प्रक्रियाका सवालमा सर्वोच्च अदालतका फैसला कार्यान्वयन गर्न अधिकारीहरुसमक्ष गम्भीर आग्रह गरेका छन् ।

न्यायको आवाजप्रतिको सरकारको चरम उदासीनताकै कारण वि.सं. २०७१ असोज ६ गते ३२९ दिनको भोकहड्तालपछि गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको दुःखद् निधन भएको स्मरण पनि एम्नेस्टीले गराएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत्को सन्दिग्ध पीडकलाई गिरफ्तार गरी प्रभावकारी अनुसन्धान गर्नुपर्ने तथा गंगामायालगायत आफूमाथि अन्याय भएको दाबी गर्ने सबै पीडितलाई शीघ्र न्याय प्रदान गर्नुपर्ने दायित्व पूरा गर्न सरकारलाई एम्नेस्टीले आग्रह पनि गरेको छ ।

आफ्नो छोराको हत्यामा संलग्न भएकाविरुद्ध कानुनी कारबाही गर्ने अधिकारीहरूको कानुनी दायित्वलाई स्मरण गराउनसमेत भोकहड्तालमा उत्रनुपर्ने दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।