
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) पार्टी नेताहरुको कार्य विभाजनका लागि आन्तरिक छलफलमा जुटेको छ ।
आइतवार अपरान्ह पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार पार्टीका प्रदेश इन्जार्च र विभागहरुको कार्य विभाजन गर्ने विषयमा छलफल शुरु गरिएको हो ।
विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्य सम्पादन हुने गरी नेताहरुको कार्य विभाजन गर्ने विषयमा छलफल गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरुको कार्य विभाजन र पार्टीको चैत्र १ गतेबाट शुरु हुने तराई–मधेस जागरण अभियान, पूर्वपश्चिम, उत्तरदक्षिणका अभियान, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरु सञ्चालनका लागि मार्ग चित्र बनाउन पनि नेताहरुलाई निर्देशन दिनुभएको थियो ।
नेताहरुको कार्य विभाजन र पार्टीको आगामी योजना तथा कार्यक्रमको बारेमा गृहकार्य गर्न पनि अध्यक्ष दाहालले आफूहरुलाई दुई दिन समय दिएको र मंगलवार बिहान साढे ८ बजे बस्ने पार्टी स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल हुने पनि प्रवक्ता सापकोटाले बताउनु भयो ।
प्रवक्ता सापकोटाले भन्नुभयो, ‘यो स्थायी कमिटी बैठकको सबैभन्दा मुख्य एजेण्डा चाहीँ नयाँ परिस्थिति अनुसार, नयाँ कार्यभार अनुसार, नयाँ कार्य विभाजन । खासगरी प्रदेश इन्चार्जहरु जिम्मेवारी र अन्य विभाग सबैको जिम्मेवारीहरु निश्चित गर्ने कुरा छ । र, त्यसको लागि अहिले व्यापक रुपमा गृहकार्य पनि भएको छ । अझ भनौं–पार्टपार्टमा बैठकहरु भइरहेका छन । स्थायी कमिटीका कमरेडहरुको बीचमा पनि छलफल भइरहेको छ । पदाधिकारीहरुको बीचमा पनि छलफल भइरहेको छ । अध्यक्षले पनि व्यापक अन्तरक्रियाहरु गरिराख्नुभएको छ । अब पहिलो कुरा कार्य विभाजन छ । त्यो अलि बैज्ञानिक, बस्तुवादी र अलि प्रभावकारी होस भन्ने छ । दोस्रो कुरा चाँही अभियान जुन हामीले चैत्र १ बाट शुरु गर्दैछौं । त्यसलाई अझ प्रभावकारी बनाउनका लागि हामी जनतामा जाने धेरै कुराहरु भएका थिएन । अब चाहीँ वृहत जनपरिचालन । सभाहरु, कोणसभाहरु गरेर जनतामा नै जाने भनेर हामीले तराई मधेश जागरण अभियान अनि त्यसपछि पूर्वपश्चिम, उत्तरदक्षिणका अभियानहरु, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरु भनेका छौं । त्यसको बारेमा पनि वृहत मार्गचित्र बन्दैछ ।’
प्रवक्ता सापकोटाले बालकुमारी घटनाका छानविन समितिको प्रतिवेदनबारे भने आजको बैठकमा छलफल नभएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्