३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


टिविएमको निर्माण गति तीव्र, आगामी बैशाखसम्ममा सुरुङ निर्माण सकिने


1.053k
Shares

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको टनेल वोरिङग मेसिन (टिविएम) तीव्र गतिमा सञ्चालन भएसँगै बैशाखसम्ममा सुरुङ निर्माण सकिने अनुमान गरिएको छ ।

कमलामाई नगरपालिको कुसुमटारबाट सुनकाशी गाउपालिका– ७ को कानढुंग्रीस्थित सुनकोशी नदीसम्मको कुल १३ दशमलव ३ किलोमिटरमध्ये हालसम्म १० दशमलव ८ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएकाले बाँकी २ दशमलव ५ किलोमिटर सुरुङको निर्माण आगामी वैशाखसम्म सम्पन्न हुने आयोजनाका डिभिजन इन्जिनीयर रवि शाक्यले जानकारी दिनुभयो ।

विगत दुई महिनासम्म भुगर्भभित्रको सुख्खा र लेदो पहिरो खसेर लगातार जाममा परेको सुनकोशी–मरिण डाइभर्सनको टनेल वोरिङग मेसिन टिविएम पुर्ववत सञ्चालन भइ दैनिक ५० मिटरभन्दा बढीको सुरुङ निर्माण भइरहेको छ ।

अप्ठेरो भुगर्भ छिचोलेर सञ्चालन भएको टनेल वोरिङ मेसिन टिविएमले दैनिक ५० देखि ५५ मिटरसम्म सुरुङ् निर्माण गरिरहेकोले यही गतिमा काम अघिबढे लक्ष्यभन्दा अगावै सुरुङ् निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ ।

सुनकोशी–मरण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यका साथै सुनकोशी नदीमा बाँध निर्माणको कामसमेत अघि बढाइएको छ ।