२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई प्रयोग गर्न सकिन्छ : अध्यक्ष केसी


65
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपालीहरुलाई लगानीकर्ता ल्याउने पुलको रुपमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष केसीले गैरआवासीय नेपाली र संस्थाहरुलाई लगानी सम्मेलनमा लगानीकर्ता ल्याउने सकारात्मक माध्यमको रुपमा सरकारले सोच्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष डा. केसीले सरकारले गर्ने आगामी लगानी सम्मेलन सफल बनाउन विश्वका विभिन्न देशमा बसोबास गर्ने ८० लाख नेपालीसँग समन्वय गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले अन्य मुलुकहरुको अभ्यास हेर्दा पनि मुलुकभित्र लगानी ल्याउने व्यक्तिहरु त्यही देशमा रहेका गैरआवासीयहरु नै हुने गरेको दाबी गर्नुभयो । उहाँले नेपालबाट गैरआवासीय भएर बसेका धेरै नेपालीहरु व्यवसायी र लगानीकर्ता बनिसकेको अवस्था रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष डा.के.सीले सरकारले आगामी बैंशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि गैरआवासीय नेपालीहरुसँग समन्वय गर्न सुझाव दिनुभयो । उहाँले नेपालले निर्माण तथा उत्पादनका लागि लगानीकर्ताले विदेशबाटै प्रविधि ल्याउनसक्ने गरी प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष डा.केसीले नेपालले ठूलो लगानी ल्याउन दुई पक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण (बिपा) सम्झौता पनि गर्न आवश्यक देखिएको बताउनुभयो । अध्यक्ष केसीले गुणस्तरीय लगानी ल्याउनको लागि सरकारले कन्ट्री रेट्रिङ गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले नेपाल सरकारले आफूसँग भएका आयोजनाहरु र उत्पादनलाई प्रचारमा बाहिर ल्याउनुपर्ने बताउनुभयो । लगानी सम्मेलन भनेको दुई चार वर्षमा मेला गरे जस्तो नभएर हरेक वर्ष गर्न पनि अध्यक्ष केसीको सुझाव छ ।