१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संसदीय समितिले दिएका निर्देशन शिघ्र कार्यान्वयन गर्न अख्तियारलाई निर्देशन


104
Shares

काठमाडौं । संसदीय समितिले दिइएका निर्देशनहरुको शिघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले मंगलबार आयोगका पदाधिकारीहरुलाई बोलाएर विगतमा दिएका निर्देशनहरुको कार्य सम्पादन छिटो गर्न ध्यानाकर्षण गराएको हो ।

आम नागरिकमा समेत आशंका र दुविधा बढ्ने भएकाले समितिले दिएको निर्देशनको छिटो कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गरिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

बैठकले आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषा भित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रुपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भनेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरुले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान र अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने निष्कर्ष निकाल्दै आवश्यकताअनुसार बहुपक्षीय र द्विपक्षीय सम्झौता गरी संसदबाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन पनि समितिले सरकारलाई सचेत गराएको छ ।

समितिले अनसन्धानको क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छुट्टै संवाद गर्ने पनि जनाएको छ ।