२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीय संसदको ओझ र गरिमा घटेको छ : पूर्वसभामुख सापकोटा


182
Shares

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताउनुभएको छ ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताउनुभएको हो । उहाँले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो ।

पूर्वसभामुख सापकोटाले संसदमा बोलेको कुराहरुको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भएपनि संसदको त्यो प्रकारको गाम्भियर्ता कायम हुन नसकेको बताउनुभयो । उहाँले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्ने बताउनुभयो । उहाँले संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट पार्नुभयो ।

पूर्वसभामुख सापकोटाले विचारको रिक्तता र शुन्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताउनुभयो । विचारको शुन्यताको कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उहाँको भनाई छ ।

पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताउनुभयो । उहाँले त्यसप्रकारको साजिसका बिरुद्धमा अभियान छेड्नुपर्ने बताउनुभयो । उहाँले देशमा जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भन्ने गलत भाष्य सिर्जना गरेर लोकप्रियतावाद र अराजकतावादतिर लान खोजिएको बताउनुभयो । उहाँले गणतन्त्रको नेतृत्वको विरुद्धमा अफवाह फैलाइएको पनि बताउनुभयो ।

उहाँले वर्तमान परिवर्तनहरु र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।