२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


कर्मकाण्डका लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य छैन : अध्यक्ष लिङ्देन


195
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषयहरु संसदमा चर्को रुपमा उठेपनि सरकारले नसुनेको बताउनु भयो । उहाँले संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको बताउनु भयो । उहाँले सरकार र राजनीतिक दलको काम के हो ? भनि प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो – ‘संसदमा हामीले आवाज उठाएर मात्रै बस्ने, कुरा गरेर मात्रै बस्ने यसको अर्थ के हुन्छ ? जनता आफैँ सडकमा आउनुपर्ने ? पीडित आफैँले न्यायका लागि आत्मदाह गर्नुपर्ने ? अनि सरकारको काम के हो ? हामी राजनीतिक दलहरुको काम के हो ? म सरकारको ध्यानाकर्षण गर्न चाहान्छु, सरकारले यि विषयहरुमा ठोस जवाफ नदिएसम्म, सरकारको उपस्थिति संसदमा नभएसम्म संसद अगाडी बढाइराख्नुको कुनै औचित्य छैन । केबल कर्मकाण्डको लागि मात्रै यो संसद चलाइराख्नु र जनताले रगत, पसिना बगाएर तिरेको तिरोमाथि रमाइलो गरेर बस्नुको कुनै औचित्य छैन । ठोस जवाफ नआएसम्म संसद अगाडी बढ्दैन ।’

अध्यक्ष लिङदेनले सरकारले समसामयिक विषयहरु सबैको जवाफ दिनुपर्ने बताउनुभयो ।